Contact Form

Name

Email *

Message *

Z

Saturday, June 13, 2015

सुको अर्थात चिडीको एक्का

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको एउटा कृति छ, ‘बाह्रौं खेलाडी’ । बेन्चमा बसेर मैदानका खेलाडी कतिबेला अक्षम होलान्, थाक्लान् वा घाइते होलान् र भित्र पसुँला भनेर चुइँगम चापाएर तम्तयार बस्ने खेलाडी हो बाह्रौं खेलाडी । यो हो फुटबलको कुरा । क्रिकेटमा त बाह्रौं खेलाडीलाई यही कुराइको पनि ठूलो सुविधा हुँदैन । चन्दको कथा फुटबलको कथा हो । चन्दको कथा सक्रिय राजतन्त्रको कालमा रचिएको थियो । तर राजतन्त्रकालीन यो प्लटको लोकतान्त्रिक भ्यालु जीवितै छ ।
भैंचालोको व्यवस्थापनमा अक्षम करार गर्दै प्रधानमन्त्री सुशील कोइरालाको विकल्पका कुरा सोच्न थालेको छु । झोसैरै अक्षम भन्ने साहस नभए पनि वहानाको ‘राष्ट्रिय सरकार’को तुरुपले चिडीको एक्का ढलाउने पक्का
राष्ट्रिय सरकारको कुरासँगै गाँसेर जनतालाई फुल्याउन ल्याइएको संविधान निर्माण पूरा हुन्छ त ? हुन्न । कारण सपाट छ । नयाँ संविधानले माग्ने नयाँ म्यान्डेटका लागि कुनै पनि पार्टी तयार छैनन् । पाँचौं वर्षको अन्त्यतिर गएर मात्रै संविधान निर्माणमा दलहरु जुट्नेछन् । त्यो पनि त्यसपछिको चुनावमा आफ्नो पल्ला भारी हुने पक्का देखिए मात्रै । हाम्रा दलहरुले दलीय स्वार्थको गोजेरोमा देश र जनताको स्वार्थलाई पचाइदिएको धेरै भइसक्यो ।
हामी धेरैलाई लाग्छ, प्रधानमन्त्रीले भैंचालोका बेलामा पनि खासै व्यवस्थापकीय नेतृत्व देखाउन सकेनन् । उनले मातहतका मन्त्रालय र सरकारी संयत्रलाई प्रभावकारी परिचालन गर्न सकेनन् । दुई तिहाईको सरकार हाँकेका भए पनि उनले समयमै संविधान दिन सकेनन् । न त आम जनतालाई अनुभूति हुने कुनै खास कार्यक्रम नै ल्याउन सके ।
दुईतिहाईको सरकार प्रमुखको रुपमा उनलाई लिने जोकोहीले सुशील कोइरालालाई इतिहासकै शक्तिशाली प्रधानमन्त्रीको रुपमा लिन सक्छन् । तर यथार्थमा उनी जत्तिको कमजोर प्रधानमन्त्री हामीले इतिहासमा कहिल्यै भेटेनौं । उनको सट्टामा बन्ने जो सुकै प्रधानमन्त्रीका हालतपनि त्यही हो । धेरैलाई लाग्न सक्ने ‘वेस्ट मिनिस्ट्रिरसिप’ मोडलका प्रधानमन्त्री होइनन् सुशील कोइराला । उनमा न संसद विघटन गर्ने अधिकार छ । न त आफ्नै कुनै मन्त्रीलाई मन्त्री परिषदबाट निस्कासन गर्न सक्नने ल्याकत छ । अरु त अरु भयो, उनले आफ्नै पार्टीबाट चुनिएका मन्त्रीलाई समेत हटाउने समाथ्र्य राख्दैनन् । वर्तमान मन्त्री परिषदमा उनैले पेस गरेका कयौं प्रस्ताब पारित भएका छैनन् । कुनै गाउँको युवा क्लबको अध्यक्ष जस्तै छ उनको हैसियत ।
उनी चन्दको कथाको बाह्रौं खेलाडी होइनन् । फुटबल ग्राउन्डमैं खेलिरहेका एउटा खेलाडी त्यसमा पनि क्याप्टेन हुन् । तर दुखको कुरा के हो भने उनी यस्ता क्याप्टेन हुन्, जहाँ उनको पोजिसन गोलरक्षा मात्रै छ । अर्थात गोलकिपर । स्ट्राइकमा खेल्ने गृह, सञ्चार, स्थानीय विकास, पराराष्ट्र जस्ता मन्त्रालयले गोल ठोक्दैनन् र हारको जिम्मा लिनपर्छ उनले । सबैलाई थाहा छ, गोलकिपरलाई फुटबलमा बिरलै क्याप्टेन बनाइन्छ । त्यो क्षमताको कारणले हुँदैन अरु कुनै कारणले हुन्छ ।
त्यही गोलकिपरलाई अहिले निकाल्ले कुरा हुँदैछ । उनलाई मैदान बहार तानेर अरु कसैलाई छिराउने तयारीमा छन् राजनीतिका अफिसियलहरु । आरोप छ, सुशील कोइरालाले गोल गर्न सकेनन् । मूर्ख अफिसियललाई थाहा छैन कि गोलकिपरको सट्टामा अर्को कुनै स्ट्राइकर मैदान छिर्नेवाला छैन । गोल किपरको सट्टामा प्रवेश गर्ने आखिरमा गोलकिपर नै हो । गोल रक्षक । आलोचना रक्षक । अक्षमताको टिका लगाउन निधार ठुलो भएको अर्को बाह्रौ खेलाडी । विद्यपमान राजनीतिक अभ्यासले प्रधानमन्त्रीको भूमिका त्यही गोलकिपरमा सीमित राखिदिएको छ । र एमालेका अध्यक्ष, केपी ओली त्यही नाथे किपरको पोस्टमा जागिर खान यो गर्मीमा पनि हातमा पञ्जा कसेर बसेका छन् ।
हामी जनु राजनीतिक परिपाठीको अभ्यास गरिरहेका छौं, हामीले जुन राजनीतिक संस्कृतिको विकास गरेका छौं, त्यसमा आउने जो कोही प्रधानमन्त्रीको हैसियत उस्तै हो । सरकारका सामेल हुने पार्टीहरुको संख्या जति धेरै हुँदै जान्छ, त्यसले प्रधानमन्त्रीलाई झनझन कमजोर मात्रै बनाउँछ । हिस्देदार पार्टीलाई कजाउने क्षमता प्रधानमन्त्री नहुने, हिस्देदारका मन्त्रीलाई निर्देशन दिने वा गलत गरेमा हटाउने नैतिक शक्ति नभएका प्रधानमन्त्रीको कुर्सीमा जोसुकै विराजमान भए पनि ताल उही हुने हो ।
छ । संविधान निर्माणको अर्को तुरुप त्यसैमा खप्टिएर आउने पक्का छ । तुरुप लगाउन दिने कलब्रेक खेलाडीहरु भएका बेलामा जति नै फुर्तिवाल खेलाडी भए पनि गोल खाने पक्का भइहाल्छ ।

Monday, May 25, 2015

आपतको परिचय


भैंचालोले नेपालको जमिन जति हल्लिएको छ, उत्तिकै हल्लिएका छन् मान्छेका परिचय पनि । विपत्तिहरु मान्छेका परिचय निखारिने समय हुन् । यो विपदको बेलामा देखिएका मान्छेका केही सार असार परिचयहरु छन् जसले मलाई जीवनभर हल्लाइ रहने छ । मेरो गाउँका एकजना कार्की भाइको दम्पत्ति काठमाडौंमा पुरिएर दिवंगत भयो । देख्ने सुन्नेका अनुसार लोग्ने मात्रै भागेर आँगनमा आइसकेका थिए । श्रीमति निस्कन ढिला गरिन् र भित्रै अड्किइन् । भैंचालो गैरहेकै थियो । बाहिरबाट सामान्यपुरिएकी श्रीमतीलाई तान्न उनी भित्र पसे । ढोकासम्म घिसारेर ल्याए । तर त्यै बेला पुरै घर पल्टियो र दुबैको एक ज्यान एक प्राण एक मरण भयो । प्रेमको यो परिचय कमाउन मान्छेले कति जुनी लिनुपर्छ थाहा छैन । तर उनले एकै झल्कोमा त्यो देखाए । तिम्रो मृत्यु सार्थक भयो भाई । गोरखामा राहत वितरणका क्रममा मित्र केही पत्रकार र सर्जकमित्रले अर्को परिचय देख्यौं । पोखराको एक होलसेल पसलमा गोटाको ३६ सयका दरले भए जति पाल किन्यौं । पाल अपुग भएकोले बाटोका रिटेल पसलमा पनि किन्यौं । दुःखद कुरा के भने होलसेल पसलमा भन्दा बाटो साना खुद्रे पसलमा भाऊ कम थियो । समग्र मानवताले
उत्कृष्ट परिचय प्रदर्शनको माग गरेका बखत, राहतको बहानामा खाध्यान्न र त्रिपाल भित्र्याएर बेच्ने गिरोहहरु पक्राउ परिरहेको, गोदामबाट सामान बरामद गरिएका समाचारहरु पनि सुन्नमा आए पछि गएर । अमानवताको यस्तो निकृष्ट परिचय त कुनै पिचास वा राक्षसले पनि देखाएन होला । तिमीहरु जो जसले भुकम्पलाई कमाउने अवसर बनायौं जीवनभर त्यसैले पिडाले अशान्त बाँच्नेछौ भन्ने कुरामा मलाई कुनै शंका छैन । कसैले पनि राहत बाँडेको फोटो सामाजिक सञ्जालमा नराखे राम्रो हुने हो । मेरो एकजना गाउँले भाइले एकल प्रयासमैं गोरखा मात्रै ४ पटक पुगेर राहत बाँडे । तर हरेकजसोका फोटा उनले फेसबुकमा राखे । ।।।दाई, मेरा फोटा हेरेर अरुको मनमा पनि जाँऊ जाँऊ होस् भनेर फोटो रोखको हुँ । गाली गरे गर्नोस् ! यत्ति बुझ्नोस् दाई, फोटो राख्ने मान्छेले पक्कै गाउँ पुगेर राहत बाँडेको छ । तर फोटो हालेको बिरोधमा स्टाटस लेख्ने चाँहि गयो कि गएन थाहा छैन ।’ मेरो ज्ञानले जवाफ दिन सकेन । म आफैंले ।।।फोटो हाल्नेहरुलाई अहम्को उकेरा लगाएका मान्छे’ भनेर फेसबुकमा स्टाटस लेखेको थिएँ । अहिले सोच्छु, विपतको बेलामा अहम्को कुरा कसैले नल्याएको भए ठिक हुन्थ्यो होला । भैंचालो गएको चौथो दिन सरकारको नेतृत्व र प्रशासनिक क्षमता भएन भनेर धेरैले प्रतिक्रिया दिइरहेका थिए । मैले त्यस्तै सार्वजनिक प्रतिक्रिया जनाउँदा पोखराका एक कवि(?)ले अनावश्यक आक्रोश
जताए । भैंचालोको भोलीपल्ट देखि आजका दिनसम्म उद्दार, राहत र पुनस्थापनका काममा म जेनतेन सकेको खटिरहेको हुँ । म पुगेको ठाउँमा सरकार देखिन, मैले लेखेँ । तर सरकारकाअन्धभक्त उनले ।।।सरर कारमा बसेर पिकनिक मनाएर आएको’ भनेर अति निक्रिष्ट शब्दले गाली गरे । यो शब्द मलाई थिएन, स्वतस्फुर्त उद्दार र राहतमा खटेमा तमाम नेपालीहरु प्रति थियो । उनलाई जागिर र पदको जोहो गरेर जीवन सुधार्नु थियोआफ्नो पार्टीको सरकारको चाकरी गरे । मलाई थिएन गाली गरेँ । मलाई अधैर्य भए पछि तल्लै तहको शब्द प्रयोग गरेर सार्वजनिक रुपमैं उनको झ्याँको झार्न कोशिस गरे । विपदको यो घडीमा उद्दार र राहतको काम गर्न छोडेर काम गर्नेहरुलाई नै अर्ति दिने बुद्ध पुरुषदेखि सरकारलाई कालो झण्डा देखाउने महात्मासम्म यही बेला देखिए । सबैलाई गाली गर्दै हिड्नेफुर्सद थिएन गरिएन । मैले गोरखामा भुकम्पले परिवारको सदस्य गुमाएर पनि समान्य मान्छेझैं काम गरिरहेका मान्छेहरु देखेँ । नुवाकोटमा छोरी गुमाएकी बुढी आमाले भर्खर जन्मेकी पनातिनीलाई तेल लगाइरहेको देखेँ । भुकम्पमा पिता गुमाएको धादिङ्को युवालाई १३ दिन नपुग्दै घरको भग्नाबशेष पन्छाउँदै गरेको देखेँ । तिनीलाई पिडित भन्नै मन लागेन । वीर योद्धा हुन् यिनीहरु । रुन, कराउन वा दुःख देखाउन पनि मान्छेलाई फुर्सद चाहिन्छ । बिरामी हुन पनि फुर्सद चाहिन्छ । किरिया गर्न पनि
फुर्सद चाहिन्छ । यो समय ।।।अब भयो पुग्यो’ भन्ने समय होइन । साँझ बिहान फेसबुक र ट्विटरमा ।।।यसो गर उसोनगर’ भन्ने अर्ति र गाली राखेर मानवहुनुको दायित्व पुरा हुँदैन् । मान्छेको जीवन परिचय निर्माणको यात्रा हो । परिचय कहिल्यै निरपेक्ष निर्माण हुने कुरा होइन । परिचय भन्ने कुरा व्यक्ति, स्थान, घटना र समयको सापेक्ष हुन्छ । यिनैका दैलामा टेकेर मान्छेको परिचय उभिन्छ । संकटको समयमा, आफूलाई पर्दा होस या अरुलाई, मान्छेको परिचय निखारिएर आउँछ । मानवताको परिचय देखाउने यो भन्दा उपयुक्त अवसर अर्को छैन । समय, सम्पत्ति, सहभागिता र साथको सहयोग नगर्ने मान्छे मान्छे नै होइन । यस्तो विपत्मा पनि मन फुकाउन नसक्नेले आफूलाई सबैभन्दा स्वार्थी र अमानुष जनावर सम्झे हुन्छ ।

http://www.nepalayanews.com/2015/05/%E0%A4%86%E0%A4%AA%E0%A4%A4%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%9A%E0%A4%AF/ 

तरुण–तपसी काहुँ


रेस्टुरेन्ट व्यवसायी बुद्ध गुभाजुको पुरानो जोत्ये जीप तम्तयार थियो, काँठी बाँधेर ठिक्क पारेको घोडाजस्तो। तर घोडसवारको पत्तो थिएन। सात बजे पोखराको महेन्द्रपुलबाट छुट्ने योजना तर, पूरा टोली जुट्दा ११ बज्यो। अनि हामी हुइँकियौं, काहुँडाडातिर।
म स्कुल हापेर पुग्ने ठाउँ थियो काहुँ। तर जोत्ये समूहका कथाकार मीरा ढकाल, वनस्पति फ्रिक सन्देश लामिछाने, कवि अमित रिजाल त पुगेकै रहेनछन्। राजस्व अधिकृत सूर्य प्रतीक सुर्खालीको ताल पनि तिनकै जस्तो। सबैका लागि म गाइड हुने भइहालेँ। त्यसो त मभन्दा ज्यादा काहुँ उक्लेका बुद्ध दाइ पनि थिए। युवा समालोचक उपेन्द्र पौडेल र म बाइकमा अघिअघि कुद्यौं। बुद्ध दाइको जोत्ये हिनहिनाउँदै पछि लाग्यो। 
काहुँ सिरानसम्मै मोटरबाटो छ। आधाजसो कालोपत्रे। गुरुङ गाउँसम्म सार्वजनिक बस पनि चल्छन्। त्यसैले हाइकिङ, बाइकिङ वा मोटोराइकिङको विकल्प खुल्लै हुन्छ। फेदी बस्यारीबाट उक्लिएर बरालथर, पोखरीथोक, सिस्न्यारी, तिलाहारा अनि थाप्ला मुन्तिर निधारमा रहेको गुरुङ गाउँ। गुरुङ गाउँको पुछारमा सानो चौर। चौरको बगलमा बरपीपल चौतारो। चौताराको पेटीबाट सेती र विजयपुरबीचमा रहेको उपत्यकाको दृश्य अद्भूत देखिन्छ। चौतारामा बूढा बाघचाल खेलिरहेका भेटिन्छन्। कोहीकोही डोका नाम्ला बुन्दै पनि हुन्छन्। 
कहधरहर
गुरुङ गाउँको तगारोमै स्वर्गीय वीरसिंह गुरुङको घर छ। काहुँ उनै वीरसिंहका कारण पनि प्रख्यात छ। उनैले बनाएका हुन्, काहुँ धरहरा। तिनै शिक्षाप्रेमीका आँगनमा उभियौं हामी। ५० वर्षअघि बनेको युरोपेली शैलीको घर। खुला आँगन, चाक्लो पिँडी अनि पिँडीमा तरुनीझैं उभिएका सुलुत्त पिल्लरका आडमा हाम्रो मोडलिङ चल्यो।
दुःखको कुरा घरमा कोही थिएन। उनको मात्रै होइन, पूरै गुरुङ गाउँ रित्तै भइसकेको थियो। एकाध घरमा राखेका कुरुवा कुखुरा धपाउँदै थिए। व्यवसायी गुभाजु बसाइँ सरेका गुरुङ–घरलाई भाडामा लिएर होटल चलाउने योजना सुनाउन थाले। ‘हजार सपनाहरूको माया लागेर आउँछ...' हामीले गीत गाएर उडाइदियौं उनको योजना। सबै राम्रा ठाउँमा एकैजनाले रेस्टुरेन्ट खोलेर बस्न सम्भव हुँदैन।
गुरुङ गाउँ कटेर थाप्लामा पुग्यौं। पहाडको सिउँदो चौर भन्न लायक थियो। चौरको पूर्वपट्टि थुम्कोमा कृषि सांस्कृतिक धरोहर काहुँकोट छ। उत्तरमा अनुमान गरेभन्दा सुन्दर हिमाल। पश्चिमपट्टि धरहरा। अनि सबैभन्दा मदमोहिनी दक्षिणपट्टि थियो– प्रथम रजस्वालापछि घाम तापेर सुतिरहेकी किशोरीझैं पोखरा। हिमाल र तालका कारणमात्रै सुन्दर भएको होइन पोखरा। यो सहर आफैंमा सुन्दर मानव बस्ती पनि हो। सेती र विजयपुरले बाँडेको उपत्यकाको कुना–कुनासम्मका भूगोल अप्सराहरूको रंगमञ्चझैं देखिन्छ काँहुबाट।
एक घन्टाजसो त यता सोझिने, उता बांगिने गर्दै फोटा खिच्यौं हामीले। अनि सुरु भयो गाइड टोपलिएको मेरो नोस्टाल्जिक गाइडगिरी–
‘काहुँ पोखराको एउटा सांस्कृतिक धरोहर पनि हो। चौबीसे राजाका पालामा यस क्षेत्रका डिठ्ठा रहेका हुकुमलि नाम गरेका मुसलमानका नामबाटै काहुँ नाम रहेको दाबी गर्छन्, लोककवि अलिमियाँका छोरा हनिफ। राणाकालमा मालअड्डामा ९९ रुपैयाँको तमसुक बनाउँदा सेतीपूर्वको जमिनलाई ‘काहुँ कुँडहर' र सेती पश्चिमको जमिनलाई ‘काहुँ पोखरा' भनिन्थ्यो। अर्थात्, उपत्यकाभरिको कृषिकर्म र कृषि–संस्कृतिको माउ थियो काहुँ। पहेँले र जेठेबूढो धानका लागि प्रख्यात कुँडहर फाँट काँहुखोलाले सिञ्चित हुन्थ्यो। काहुँ खोलालाई थुन्न मुस्किल थियो। त्यसैले सारा गाउँले झारा जान्थे। यसरी अनिवार्य गरिएको बाँध बाँध्ने र कुलो सोहोर्ने कामलाई रिठ्ठेझारा भनिन्थ्यो। फेरि झारा जान नपर्ने गरी काम भयो भने त्यसलाई मैझारा भनिन्थ्यो।'
साथीहरू एक टकले सुनिरहे। बिस्तारै बोतल पनि हलुंगा हुँदै गए। म मस्किँदै गएँ, ‘कुँडहर फाँटमा रोपाइँ पस्नुअघि, डिठ्ठा र मुखियाको नेतृत्वमा काँहुकोटमा पूजा गर्न जान्थे किसान। मंसिरमा धान काट्नुअघि पूजा गर्ने ४ कोटमध्ये एक थियो काँहुकोट। कोटमा पूजा गरी धानको पुलापूजा र न्वाई खाएपछि मात्रै फसल काट्ने चलन थियो। खडेरीमा पानी माग्न जाने ठाउँ पनि काहुँकोटै थियो। सेती नहर बनेपछि इन्द्रदेवसँग पानी माग्न परेन। काहुँकोटले पनि भोग पाउन छोड्यो। काँहुकोट पुनर्निर्माण गरिएको छ। तर यसले सांस्कृतिक आयाम लगभग गुमाइसकेको छ। खाली पर्यटकीय महत्त्व जीवित छ।'
काहुँको उत्तरपट्टि बाक्लो जंगल छ। धारापानी सामुदायिक वनमा मृग, कालिज, वनकुखुरा, चौघडाजस्ता वन्यवर बाक्लै रहेको दाबी गरे सुशील केसीले। उनले धरहराछेउमा रेस्टुरेन्ट खोलेका छन्। जंगल गुराँसले सिजनमा राताम्मे देखिन्छ। काहुँ भ्यु प्वाइन्टबाट आर्बाविजयको बरालगाउँ, मौजामोरियाको आँटीघर, सिल्दजुरेको थाक, कालिका—माझठाना, भलाम, अर्मला, घार्मी, अस्ताम, सराङकोट, कास्कीकोटजस्ता बस्ती छ्वाङ्ङै देखिन्छन्। माछापुच्छ्रे, अन्नपूर्णा, धवलागिरि, मनास्लुजस्ता हिमशिखर आफ्ना फुटहिलसहित लहरै उभिएको देख्न पाइन्छ। फोटो खिच्नकै लागि लहर मिलाएर उभिएजस्ता पोजालु हिमाल। जरासहित सग्लै हिमाल हेर्नुको मजा काहुँकोटबाट सम्भव छ।
काँहुखोलाको पानी सोझिएको नहरको विख्यात ठाउँ ‘दुईकुलाको मुहान'मा सिँचाइका लागि दिनहुँजसो मल्लयुद्ध हुन्थ्यो। हरेक वर्ष घाइते हुने र कहिलेकाहीँ ज्यान गुमाउनको किस्साले वर्ष दिनको बात पुग्थ्यो। मैले मल्लयुद्ध देखिनँ, सुन्न त कति सुनेँ कति। त्यसैको टुप्पामा बसेर म हेर्छु तलतिर– सेतीनदीदेखिको पूर्वेली पाटो। देख्छु तीनवटा गाउँलाई उठीबास पारेको प्रस्तावित पोखरा विमानस्थलको रित्तो चौर, जेठोबूढो र पहेँले फल्ने फाँटका छाती चिरेर कित्ता छुट्याइएका प्लटिङका रेखाचित्र। सुक्दै गरेको किसानी कल्चर र फुक्दै गरेको लाहुरे फूल।
काहुँकै काखमा भद्रकाली मन्दिर। कक्षा ६ मा पढ्दा नम्बरी भगुवा थिएँ म। स्कुलबाट भागेर पुग्ने एउटा गन्तव्य थियो भद्रकाली र कार्कीडाँडो। जसको वनमा दिनभर झार, रूख, झरेका पात, चरा र किटपतङ रुँगेर म चार बज्ने प्रतीक्षा गर्थें। झाडीमा झोला लुकाएर उक्लन्थेँ काहुँ। टुप्पामा पुग्दा सगरमाथै चढेजस्तो। म मेरो ब्याचको तेन्जिङ नोर्गे भएको अनुभूत गर्थे। देख्थेँ परसम्म फैलिएका नामै नचिनेका डाँडाका तप्कै तप्का। तिनैका जरामा उमि्रएका थिए नाम चिनेका सेता हिमाल। हिमालका लहरमा एकसाथ उभिँदा मलाई सँगसँगै ‘कभर अप' गरूँगरूँ लाग्थ्यो।
केही पहिलेसम्म काँहुडाँडाबाट छ्वाङ्ङै देखिन्थ्यो– छिनेडाँडास्थित देउराली माईको झ्यापुल्ले चौतारो, चाउथेको पीपलडाली, अनि गौंडाको मुखनेरको कदमको बोट। देउराली माईको चौतारा एयरपोर्टको अधिग्रहणमा पर्योक। पीपलडालीले ओगटेको जग्गा महँगो भयो र जग्गाधनीले काटिदिए। धन्न नहरको मापदण्डमा परेकाले कदमको बोट जीवित छ, तर कुन दिन बाटो चक्ल्याउनेको तारो हुने हो पत्तो छैन। दुख्खले पुर्खाले हुर्काएको काहुँसिञ्चित कुँडहर फाँटको त्यो रहरलाग्दो कृषि–संस्कृति आज भताभुंग छ। चौतारा मासिएका छन्। पानी खाने हिटी पुरिएका छन्। पोखरी चौर बनाइएका छन्।
लोककवि अलिमियाँ यस संस्कृतिका शिखर उपजमात्रै थिए, एक्ला उपज थिएनन्। हार्मोनियम र तबलावादक विष्टकाजी, लोक भजनका उस्ताद कृष्णबहादुर भण्डारी, अद्भूत बासुँरीवादक मनराम अधिकारी आदिलाई त मै ठिटाले पनि भोगेको हुँ। यस्ता प्रतिभा गाउँपिच्छे थिए। सेतीपूर्वको लोकसंस्कृतिको विकास त्यसै भएको होइन। अलिमियाँ त्यसै जन्मेका होइनन्। यहाँका रोपाइँ, दाइँ, धान गोडाइ, पशुचरन जस्ता कृषिकर्मको आभाले उज्यालो भएको हो पोखराको लोकसंस्कृति। काँहुडाँडा त्यसको अविचल साक्षी हो– कविशिरोमणिको तरुणतपसी चौतारोजस्तो।
काहुँकोटबाट ३ सय मिटर पश्चिमपट्टि छ धरहरा। एकतले टावर। यहाँबाट पोखरा उपत्यकाको कुनाकुना प्रष्ट देखिन्छ। दक्षिणमा गगनगौंडादेखि उत्तरको हेम्जासम्मका स्पष्ट खुल्छन्। रमाइलो कुरा के भने काहुँबाट पोखराका हरेक नदी, ताल, बाटा, मुख्य भवन, अस्पताल, विद्यालय, क्याम्पस, व्यापारिक केन्द्र, उद्योग, पार्क आदिलाई चोरी औंलाले ताकीताकी देखाउन पाइन्छ। विमानस्थल त तिनिक्क तन्काएर सुकाएको तन्नाजस्तै देखिन्छ। ओर्लंदा होस् र उड्दा विमान काहुँछेउकै आकाश नापेर जान्छन्।
काहुँ उक्लिँदा कुटुक्क मन खाने कुरा पनि छन्। पानी मागेर खाने ठाउँसम्म नराखेर सिरानका काँहुकोटेहरू बेसी झरिसके। धरहरा परिसरमा अति अश्लील शब्द, साहित्य र चित्र कोरिएका छन्। थाप्लामा बनाइएको काहुँ महोत्वसकालीन चौर, पिकनिक स्पट हुँदै डम्पिङ साइटमा चेन्ज भइसकेको छ। झाडीमा लागुऔषधका लतीले फालेका सिरिन्ज छरपस्ट। धन्न भर्खरै एउटा कामचलाउ रेस्टुरेन्ट खुलेको छ। नत्र काहुँको पर्यटकीय विकासका लागि केही भएकै छैन। काहुँ महोत्सवका बेला तातेको पर्यटकीय मुद्दा सेलाएर बरफ परिसकेको छ। 
वरसहक घर र रतत गरङ गउ
आफैंले लगेका खानेकुरा सकेर हामी फर्कियौं। ओर्लंदा भद्रकालीको उत्तरपट्टि कार्कीडाँडातर्फ झर्नु राम्रो हुन्छ। काहुँको ठिक तल छ कार्कीडाँडा जहाँ बौद्धगुम्बा छ। अनि त्यसको बित्तामै छ भद्रकाली। काहुँको शिखरबाट तल हेर्दा जमिनमा टाँगिएको प्यागोडा मन्दिरझैं देखिन्छन् यी दुई डाँडा। कार्कीडाँडा र काहुँको बीचमा सुन्दर तलाउ छ। पोखराको नागदह। यसलाई कमल पोखरी भनिन्छ। बीचमा नागको आधुनिक प्रतिमा छ भने पश्चिमतिर मन्दिर। पूरै जलाशय सुन्दर कमल फूलले ढाकेको छ। जंगलका बोटका हाँगाहाँगामा बकुल्लाहरूको क्रीडा देखिन्छ। उत्तरी किनारका केही भागमा केटाकेटी पौडी खेलिरहेका थिए। कोहीकोही आँखा छलेर फूल टिप्दै थिए। उनीहरूलाई हपार्दै थिइन्, जाल थापेर माछा मारिरहेकी एउटी गुरुङ्सेनी बज्यै। ‘माछा मार्न हुने फूल टिप्न नहुने?' एउटा बबुरो भन्यो। हामी एक झमटले हाँस्यौं।
- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/20389.html#sthash.0UclKfgm.dpuf 

महाभारतमा यौनिकता



‘पुरुष सुक्त’मा भनिएको छ ‘चन्द्रमा मनसो जात’ अर्थात चन्द्रमाबाटै मानव मस्तिष्क बनेको हुन्छ, मान्छेको मस्तिष्कलाई चन्द्रमाले प्रभाव गरेको हुन्छ । एक असामान्य मानसिक अवस्थालाई अग्रेजीमा ‘ल्युनासी’ भनिन्छ जो चन्द्रमा जनाउने शब्द ‘लुनार’बाट बनेको हो । मानसिक बिरामीलाई चन्द्र–पक्षले तलमाथि गर्ने कुरा त जगजाहेर नै छ ।
महाभारत चन्द्रबंशीहरूको कथा हो । यसर्थमा महाभारत खासमा लहडीहरुको कथा हो । मानसकथा हो । कल्पनाको एक सिमाहिन कथा जहाँ जे पनि सम्भव थियो । मानव मस्तिष्कले गर्ने कल्पना कति टाढासम्म पुग्न सक्छ भन्ने प्रश्नको उत्तर हो महाभारत । महाभारतको बारेमा एउटा भनाई छ ः संसारमा त्यस्तो कुनै मानवीय घटना भएकै छैन र हुने पनि छैन जो महाभारतमा कल्पना नगरिएको होस् ।
आजको यो आलेखमा म महाभारतको मनिखाँबोमा रहेर हिन्दू मिथकमा रहेका फरक यौनिक प्रसंगहरुलाई कोट्याउने प्रयास गर्नेछु । आ–आफ्ना बौद्धिकता अनुसारले यसमाथि फरक प्रकारका सन्तुष्टि, असन्तुष्टि वा आरोप समेत आउन सक्छन् भन्नेमा सचेत छु र तीसबैलाई सम्मान गर्ने पुर्वघोषणा गर्दछु ।
महाभारत र यसले समेट्ने पुराण कथाहरूमा वर्णित यौन क्रियाकलाप र सन्तान उत्पादनको प्रक्रिया अति अनौठो लाग्ने गरी राखिएको छ । भनिन्छ, मिथकीय पात्रले देखाउने चरित्र भनेको अवचेतनमा अन्तरनिहित हाम्रो आफ्नै स्वभावको चरित्र हो । महाभारत लगायतका ग्रन्थहरू जसरी समाजमा अति प्रचलित र प्रिय हुनुको पछाडि सायद त्यही अवचेनले काम गरेको छ ।
रजनिश ओशोले द्रौपदीको बस्त्रहरणको बेला भीष्म, विदूर, द्रोणाचार्य, कृपाचार्य लगायतका महापुरुषहरु मौन रहनुमा उनीहरुमा ‘द्रौपदीलाई नाङ्गै हेनेै मोह थियो’ भनेर व्याख्या गर्दा ‘लौ के के न भन्यो’ भन्नेहरू थिए । ओशोले फ्रायडको मनोवैज्ञानिक विवेचनालाई महाभारतमा प्रयोग गरे । तर आज मलाई लाग्छ, ओशोले नाथे फ्रायडलाई प्रयोग गरेर गलत गरे । यौन मनोविज्ञानको पूर्वीय बहस हेर्दा नाथे फ्रायड प्लेगियारिष्ट मात्रै सुनिन्छ । यौन सम्बन्धमा पूर्वले बनाएका मान्यताहरूबाटै यसको विवेचना गर्न सकिन्थ्यो ।
महाभारत कथाको एउटा सार सत्य के हो भने यसका प्रमुख पात्रहरु सबैको जन्म असामान्य यौन व्यबहारबाट भएको छ । तिनीहरू नरनारीको सामान्य सेक्स र गर्भाधारणको समान्य अवधिबाट जन्मेका छैनन् । कुनै एउटै पात्र पनि सामान्य जन्मका छैनन्, ब्यहोराका छैनन् । श्रीकृष्ण, सत्यवती, द्रौपदी, भीष्म, पाण्डव, कौरव, व्यास, शिखण्डी लगायतका सबैको जन्म समान्य छँदैछैन ।
जस्तो कि स्वयम् श्रीकृष्णको परिवारमा हेरौं । आमा देवकी, बाबु बासुदेवसँगै कंशको जेलमा हुँदा सातौ सन्तानको रुपमा कृष्णका दाजु वलराम देवकीको पेटमा हुन्छन् । तर देवताहरुले वलरामको भ्रुण रोहिणीको गर्भमा सारेर देवकीकै गर्भमा चाँहि देवी योगमाया बसेको प्रसंग त्यहाँ पाइन्छ । के त्यतिबेला भ्रुण स्थान्तरणको साँच्चैको काम गरिएको थियो वा कल्पना मात्रै ? के यो सोरोगेट मदरहुडको प्रसंग नै हो त ? वा अरु केही ?
हेरौं शान्तनुलाई । शान्तनुले गंगालाई बिहे गरी भीष्म जन्मिए । एक सामान्य मानवको गंगा अर्थात नदीसँग कसरी बिबाह सम्भव हुन्छ ? सम्भवत गंगा माझी समुदायकी एक बिम्ब महिला हुन् । जसको परिचय गोप्य राख्न उनलाई गंगा नदीको समकक्षमा उभ्याइएको थियो । नदीलाई देखेपछि कामातुर हुने मनोरोग हुन्छ केही मानिसमा । पानीको स्पर्शले आल्हादित हुने यस्तै मनोरोगी पो थियो कि शान्तनु ? जसले कामाबेशका सामान्य मछावारा केटी गंगालाई गर्भवती बनायो ? नभन्दै यस्तै गरी नदी किनारमै अर्की मत्यकन्या सत्यवतीलाई देखेपछि पनि उसको यौनग्रन्थी रनाहा परेको थियो ।
सत्यवतीकै जन्मको प्रसंग पनि सहज र प्राकृतिक छैन । हरिबंश पुराणअनुसार सत्यवती श्रापले गर्दा माछा बनेर बसेकी अद्रिका नामकी अप्सराकी छोरी हुन् । चेदीका राजा बसुले शिकारमा जाँदा आफ्नी रानीको सम्झनामात्रले कामातुर भई वीर्य स्खलन गरेका थिए । सो वीर्यलाई उनले चिलमार्फत रानीकहाँ पठाए तर बाटोमा अर्को चिलसँग लडाईँहुँदा चुच्चोबाट यमुना नदीमा खस्यो । खसेको वीर्य पान गरिन् माछाको योनीमा रहेकी अद्रिकाले र गर्भवती भइन् । एक माझीले उनलाई पक्रेर काट्दा पेटमा दुई स्त्री र पुरुष मानव सन्तान देखे । जसलाई उनले राजाकहाँ लगे । राजाले केटालाई राखे र केटीलाई तिनै माझीले पाले । केटीको शरिरबाट माछाको गन्ध आउँथ्यो यसैले उसको नाम नै मत्स्यगन्धा राखियो । पछि गएर मात्रै उनको नाम सत्यवती भयो ।
यो हो जन्मको कुरा । कामसुत्र अनुसार माछाको गन्धयुक्त योनीरस भएका स्त्रीहरु जोकोहीलाई पनि कामावशमा पार्न सक्ने हुन्छन् भनिएको छ । हुन पनि उनी त्यस्तै थिइन् । यमुना नदीमा माझीको काम गर्दा एकदिन उनको डुँगामा आइपुग्ने पराशर ऋषि उनको त्यही गन्धका कारण कामभावनाले ग्रस्त हुन्छन् । आफ्नो कुमारित्व सुरक्षित रहनुपर्ने र आफ्नो सन्तान जन्मेको कुरा गोप्य रहनुपर्ने सर्तमा पराशरको यौनयाचनालाई सत्यवतीले स्वीकार गर्छिन् । सोही दिन जन्मेका हुन् महर्षि वेद व्यास । जो जन्मिदाकै दिन बढेर हुर्केर देशावरमा हिँडेका थिए । यिनै महाशयले जो लेखे महाभारतको कथा ।
तिनै मत्यगन्धा सुन्दरीको बशमा परे राजा शान्तनु । आफ्ना सन्तानले राजा हुन पाउने भएमात्रै शान्तनुसँग जाने सर्त राखेकै कारणले (?) भीष्मले राजगद्दी त्याग्ने र अविवाहित रहने प्रतीज्ञा गरे । शान्तनुबाट यिनले चित्राङ्गद र विचित्रवीर्य नामका छोरा जन्माइन् । चित्राङ्गद अविवाहित नै मरे भने विचित्रवीर्य अम्बिका र अम्बालिका बिहे गरेपछि सन्तान नजन्मँदै मरे । सोही कारणले सत्यवतीले नियोगका लागि आफ्नो पहिलो छोरा व्यासलाई डाकिन् ।
यही नियोगबाट अम्बिकाबाट पाण्डु र अम्बालिकाबाट धृतराष्ट्र जन्मेका हुन् । कथाअनुसार सेक्स पार्टनरको रुपमा डरलाग्दो योगी ब्यासलाई देखेकाले अम्बिकाले आँखा चिम्लिइन फलस्वरुप धृतराष्ट्र अन्धो जन्मिए । त्यस्तै डरले पहेँलै भएर अम्बालिका सेक्समा सामेल भएको हुनाले रक्तअल्पता भएको पहेलो वर्णको पाण्डु जन्मे । तर तेस्रो नियोगका बेलामा डरले उनीहरुबाट पठाइएकी दासी परिश्रमी भने शान्त रहेको हुनाले  शान्त तथा स्वस्थ विदूर जन्मे । महाभारतले भनेको यस्तै छ ।
किस्सा र कथाले देवब्रत अर्थात भिष्मको अविवाहित रहने प्रतीज्ञा उनको पिताको मत्स्यकन्यासँगको प्रेमका खातिर थियो भनिए पनि महाभारतमा भीष्मका केही शंकास्पद भनाईहरू पाइन्छन् । प्रतीज्ञा लिँदाका बखतबाटै भीष्मलाई आफ्नो लैङ्गिकताको ज्ञान थियो भन्ने विवेचना आजकाल बजारमा छन् । पुरुषमा आशक्त हुने गुण थियो थिएन भन्न नसकिए पनि उनमा आइमाईसँग अनाशक्त रहने यौनिक गुण थियो । उनले आइमाईहरुलाई घृणा गर्दथे भन्ने विवेचना गर्न अनेकन प्रमाणहरु महाभारतभित्रै पाइन्छन् । उनले नरनारी बिचमा हुने यौन र विवाहलाई ‘मानव जातिको पतन भएपछि आएको प्रचलन’ भनेर विवेचना गरेको प्रसंग महाभारतमा पाइन्छ । के उनी समलिङ्गी थिए त ?
श्रीकृष्णका सम्बन्धहरू पनि मापाका छन् । उनले हरेक सम्बन्धलाई सम्पूर्णतामा निभाउन सकेका थिए । यसमानेमा कुनै पनि सम्बन्धको गहिराई श्रीकृष्णको भन्दा गहन हुने कल्पना गीताले गर्दैन । श्रीकृष्णलाई प्रेमका प्रतीक त्यसै भनिएको होइन । उनले प्रेमका तमाम सम्बन्धहरुलाई पराकाष्ठाबाटै भोगेको हुनले उनलाई अवतारहरु मध्येका सर्वाधिक महान भोक्ता पनि भनिन्छ । विष्णुका अवतारमध्येमा उनको ‘मोहिनी रुप’ काफ्काको मेटामर्फोसिसलाई मात ख्वाउने छ । उनी वाइसेक्सुअल थिए भन्ने प्रशस्त आधार वैदिक ग्रन्थमा पाइन्छन् । जस्तो कि भागवत गीतामा अर्जुनलाई भन्छन् ः
तिमी नै म हौ र म तिमी हुँ । जे मेरो हो त्यो नै तिम्रो हो । जसको साथ तिमी छौ उसको साथ म पनि छु । जसले तिमीलाई पछ्याउँछ, उसले मलाई पनि पछ्याउँछ । हे पार्थ, तिमी मबाटै सिर्जित हौ र म तिमीबाट । (वन पर्व)
त्यस्तै द्वारिका फर्कनु अघिल्लोे रातको यस्तो प्रसंग छ :
महा शक्तिशाली कृष्ण धनन्जयको खोपीमा गए । उनको अर्चना गरेर सम्भव भएसम्मको सेवा गरी आनन्द उठाए । महा वुद्धिशाली कृष्णले त्यो रात धनञ्जयसँग एउटै बिस्तारामा आनन्दपूर्वक बिताए । (अश्वमेध पर्व)
मित्रता अर्थात मित लगाउने विधि र वैवाहिक विधि वैदिककालमा उस्तै थियो । भनिन्छ ः सप्त पदम् हि मित्रम् । अर्थात आगोलाई साक्षी राखेर सातफन्का लागाउनाले मित्रता हुन्छ । रामले सुग्रिवसँग यसरी नै मित लगाएका थिए । कृष्णले अर्जुनलाई मित भन्दथे ।
हिन्दू मिथकमा जन्मका असामान्य प्रक्रियाका अनेकन किस्ता छन् । जस्तो कि रामायणमा सीता जमिन (माटो)बाट र महाभारतमा द्रौपदीलाई आगोबाट जन्मेका महिलापात्र हुन् । त्यस्तै महाभारतको जरासन्ध दुईटा आइमाइहरुबाट आधा आधा जन्मेको हो । पछि एक राक्षसीले उसलाई जोडिदिएकी थिई । शिव पुराणमा शिवपुत्र कुमार अर्थात कार्तिर्के पनि अग्नीबाट जन्मेको भनिएको छ । उसलाई श्कन्द पनि भनिन्छ । अग्नीले शिवको विर्यपान गरेपछि श्कन्ध जन्मेका थिए । भागवत पुराण अनुसार शिव र विष्णु (मोहिनी रुप)को समयोगबाट अयाप्पन जन्मेको थियो । त्यस्तै गणेशको जन्म गर्भाशय बाहिरबाटै भएको थियो । त्यस्तै अर्को अनौठो जन्मको प्रसंग पुराणमा पाइन्छ । भगवान शिवको आदेशानुसार दुई विधवा स्त्रीहरुको सन्सर्गबाट भागिरथको जन्म भएको थियो । भागिरथ शब्दमा प्रयुक्त भगको अर्थ स्त्री जनेन्द्रिय भन्ने हुन्छ । क्रित्तिभाको रामायणमा यो प्रसंग छ ।
द्वैमाताको यो यस्ता प्रसंगले समलैङ्गिक व्यवहारको पुष्टि गर्दैन भन्न सकिन्न । जस्तो कि अग्नीलाई द्वैमात्री पनि भनिन्छ । यसको अर्थ दुई आमाबाट जन्मेको भन्ने हुन्छ । द्यौस र पृथ्वी अर्थात आकाश र धरतीलाई यसको आमा मानिन्छ । संस्कृत भाषामा आगो निकाल्ने दाउरा स्त्रीलिङ्गी नाम हो । स्मरण के गर्न सकिन्छ भने फ्रिक्शन (घर्षण)ले आगो उत्पन्न हुन्छ नकि पेनेट्रेशन (गमन)ले । यसैले अग्नीको जन्मलाई पनि समलैङ्गिक मान्न सकिन्छ । त्यसो त ऋग्वेदमा अग्नी उत्पन्न गराउने विधिको व्याख्या गरिएको छ । जसले अग्नीका पाँच पाँच गरी दुई भागमा बाँडिएका १० आमाहरु भनेर ब्याख्या गरेको छ । जसको अर्थ औंलाहरु भन्ने हुनसक्छ । औंलाको यौनिकता पनि स्पर्श र घर्षण हो गमन होइन ।
लिङ्ग परिवर्तनको किस्सामध्येमा सिखण्डीको किस्सा पपुलर छ महाभारतमा । राजा द्रौपदले आफ्नी छोरी शिखण्डीनीलाई पुरै छोरा सरह पालेका हुन्छन् । यतिसम्म कि उनले शिखण्डीको विवाह दशर्ण देशका राजा हिरण्यवर्णकी कन्यासँग गरिदिएका थिए । भनिन्छ, सुहागरातमा मात्रै शिखण्डीलाई र उसकी नवविवाहित दुलहीलाई उसको यौनिकताको बारेमा जानकारी भएको थियो । आफ्नो पति एक स्त्री भएको थाहा पाएपछि उत्पाद हुन्छ । उसको बाबुले द्रौपदको पुरा राज्य ध्वस्त पार्ने धम्की दिन्छन् । समस्याको समाधना नपाएर ब्याकुल शिखण्डीलाई स्थुनाकर्ण नामको यक्षले आफ्नो पुरुषत्व प्रदान गर्छन् । पछि नितीविपरिक काम गरेको आरोपमा यक्षराज कुबेरबाट  स्थुनाकर्णले आफ्नो पुरुषत्व फिर्तापाउन शिखण्डीनको मृत्युसम्म कुर्नु पर्ने श्राप पाउँछ ।
त्यस्तै अर्को प्रसंग छ पुराणमा, किमपुरुषको । किमपुरुष एक महिना नर र अर्को महिना नारी हुने गर्दथी ÷ गर्दथ्यो । पतन्जलीको व्याकरणमा स्त्रीलिङ्ग र पुलिङ्गवाहेक पनि उभयलिङ्ग र नपुंसक लिङ्ग र द्वीलिङ्ग सन्दर्भ छ । यसले वैदिकालमा हुने नरनारी बीचबाहेको यौनिकतालाई दर्शाउँछ ।
कुरुक्षेत्रको युद्धमा पाण्डवको विजयको लागि दूर्गा कालीलाई भोग चढाउनु पर्ने हुन्छ । भोगमा चढ्नको लागि अर्जुन र नागकन्या उलुपीको सन्तान ऐरावण तयार हुन्छ तर अन्तिम ईच्छा राख्छ ः मर्नुपूर्व विवाह गर्ने र कुमार नरहने । भोलीपल्ट मर्न तयार भएको कुनै पुरुषलाई कसैले पनि छोरी दिन तयार हुने कुरा भएन । समस्या समाधानको लागि कृष्णले मोहिनी रुप धारण गर्छन् र ऐरावणसँग विवाह गर्छन् र रातभर उसको कुमारत्व उपभोग गर्छन् । भोलीपल्ट उ मारिएपछि एक विधवाले गर्ने अन्त्येष्टीको कार्य पनि गर्छन् ।
विष्णुको मोहिनी अवतार धेरै आइरहन्छ । असुरहरुलाई उल्लु बनाएर समुन्द्रमन्थनको बेला अमृतविमुख बनाउनमा होस् या साधुहरुको ध्यान उडाएर लठ्ठ पार्न होस् विष्णुको यो रुपको प्रयोग कति छ कति । विष्णुको नारी स्वरुप मोहिनी  रुप यति मोहित गर्ने थियो कि यिनको लहैलहैमा भष्मेश्वरले आफ्नै शीरमा हात राखेर भष्म भयो, स्वयम् शिवले यिनलाई देखेर कामातुर भएर विर्य पतन गरेका थिए जसबाट हनुमान र मणिकन्थन अय्याप्पा जस्ता महावलीको जन्म भएको मानिन्छ ।
प्रश्न मोहिनी रुप धारणलाई साधारण अन्धभक्त भएर लिने कि यसलाई पौराणिक पात्रको समलैङ्गिक चरित्रको रुपमा लिने ? भन्ने मात्रै हो । सर्वशक्तिमान विष्णु मोहिनी अवतारमा आफैं किन उत्रिए ? जबकी यसको कामको लागि उनले कुनै पनि सुन्दरी परी वा अप्सरालाई प्रयोग गर्न सक्थे वा त्यस्तै काल्पनिक स्त्रीको रचना गर्न सक्थे । कुरा प्रष्ट छ, उनी वाइसेक्सुअल थिए । तर बचाऊमा भागवत गीता भन्छ, जसले मोहिनीरुपमा मख्ख पर्यो उ सांसारिक मायाजालमा पर्यो, जसले मोहिनीरुपको सारमा विष्णुलाई देख्यो उ मुक्त भयो । तर उनलाई देख्दैमा कामातुर भएर वीर्य पतन गर्ने महादेवलाई कुन क्याटागोरीमा राख्छ गीताले ?
ब्रह्मा पुराणमा मोहिनीले ब्रह्मालाई भन्छे ः रजस्वालापछि ऋतुकालमा रहेकी महिलाको कामेच्छालाई ईन्कार गर्ने जोकोही पुरुष नपुंशक हो । पुराणको यही निती अर्थात धर्मको आधारमा उर्वसीको ईच्छालाई ईन्कार गर्ने अर्जुनले श्रापमा परेर ब्रिहन्नला भए । एक बर्ष राजा बिराटको दरबारमा नाच सिकाएर बसे । भारतमा पछिल्लो कालसम्म धेरै दरबारमा हिजराहरु रानीका सुसारे बनेर बसेका हुन् । गुजरातमा बहुचराजी नाम गरेकी हिजराहरुकी देवीको मन्दिर नै छ ।
शुद्ध नर वा नारीको भन्दा फरक यौनिकता देखाउने मान्छेलाई वैदिककालमा क्लिवा भनिन्थ्यो । मनुस्मृतिमा क्लिवालाई धार्मिक क्रियाकलाप गर्न, सम्पत्ति आर्जन गर्न बञ्चित थियो । वास्तबमा क्लिवा भन्ने शब्द नर वा नारी वाहेकको फरक यौनिकता राख्ने जोकोही प्रकारको लैङ्गिक स्वभावको सामुहिक नाम थियो । क्लिवाका १४ प्रकार रहेको व्याख्या पाइन्छ जसमध्ये एकमा मुखलाई योनीको रुपमा प्रयोग गर्ने पुरुष भनिएको छ । जसको नाम मुखभग भनिएको छ । नारद पुराणअनुसार महाप्रलय आएर कलियुग समाप्त हुनु अघि मान्छेहरुले यौनिक अकर्मयण्ता देखाउने छन् । ‘नरहरुले योनीबाहेक (मुख वा गुद्वार ?)मा वीर्य पतन गर्नेछन् ।’ हालाकि यसलाई पापको रुपमा व्याख्या गरिएको छ, तर यसबाट बुझ्न के सकिन्छ भने वैदिक विद्वानहरुले यसको अस्तित्वलाई स्विकार गरेका थिए ।
कथासारितसागरमा एउटा कथा छ । एक राजाले पितृको श्राद्धका बेलामा  पिण्डहरु नदीमा चढाउन लाग्दा तिवटा हातहरु निस्के । एउटा किसानको, अर्को साधुको र अर्को योद्धाको । आकाशवाणीले भनेछ ः किसानले तिम्रो आमालाई बिहे गर्यो, तपस्यीले उनलाई गर्भवती बनायो र योद्धाले तिम्रो भरणपोषण गर्यो । यी तिनैका हात हुन् । तर तिमीले पिण्ड किसानको हातमा थमाउनु । यसबाट के थाहा हुन्छ भने, धार्मिक मान्यताले बास्तविक पिताको रुपमा बिवाहित रहेको पुरुष मात्र हुने व्यवस्था गरेको देखिन्छ ।
अन्त्यमा एउटा लोकोक्तिले बिट मार्नु ठिक होला । हिजराहरुमा प्रचलित एक कथाअनुसार १४ बर्ष बनाबास जाँदा पछिलागेका जनतालाई घर फर्किने आदेश दिँदा श्रीरामले ‘सम्पूर्ण नरनारीहरु घर फर्किनू’ भनेका थिए रे । नरनारीमात्रै सम्बोधन गरेकोले तेस्रोलिङ्गीहरु १४ बर्षसम्म उनी आउने बाटो कुरेर बसेका थिए रे । पछि बनबासबाट फर्किदा उनीहरुको भक्ति देखेर रामले ‘यसपछिको युगमा तिमीहरुले शासन गर्नेछौं’ भनेका थिए रे । के त्रेतायुगपछिको द्वापरमा शासन गर्नेहरु तेस्रोलिङ्गी नै थिए त ? नभए महाभारतका हरेक पात्रलाई उत्पाद उत्पादका कल्पनाबाट जन्माउनु पर्ने जरुरत किन थियो व्यासलाई ? सामान्य र प्राकृतिक रुपमा जन्मेका भए के महाभारतको देशना अर्थपूर्ण हुँदैनथ्यो ?

First Published at:

Sunday, May 24, 2015

तनाबोटलमा स्वागत छ

तनाबै तनाबले खोलिएको
हाम्रो युगको अन्तिम होटल
यो अवसाद गृहको द्वार,
‘तनाबोटल’मा स्वागत छ !

नमस्कार, ए तिमी आयौ ?
कति बस्छौं, कुनै छ अनुमान ?
यता नाम¬—सही राखेर दर्ता गर त !
थर र कुन ‘थारवान’बाट हो त्यो पनि लेख्नु है
पहिचान बिनाको कुनै पाहुना राख्दैनौ हामी ।
हा हा हा हा ...

पुरा जिन्दगी बोकेर आयौ कि क्या हो ?
झोला त ठुलै देख्छु !
माफ गर यहाँ भारी बिसाउन मनाही छ ।
तिमी उठ्दा तिम्रो पिठ्युँमा
बस्दा काँधमा
सुत्दा छातीमा
निहुँरिदा टाउकामा
तिम्रो भारी देखिएकै हुनुपर्छ तनाबोटलमा ।
मुत्दा, हग्दा, मात्रै होइन है
सेक्स गर्दा पनि तिम्रो भारी तिमीसँगै हुनु पर्छ ।
हा हा हा हा ...

आहा, गजब देख्छु म !
तिमी त झोलाभरि आश्चर्य बोकेर आएका छौ ।
कसरी थाहा भो तिमीलाई ?
यहाँ लगेजमा
डर र अपराधबोध मात्रै बोक्न पाइन्छ ।
ज्योति हराएको सिलिन्डर र भोक भरिएको भजालो मात्रै बोक्न पाइन्छ ।
बलात्कारपछि ब्यूँझिएकी कलिलि बालिकाको छिप्पिएको आँखा मात्रै बोक्न पााइन्छ ।
उहिल्यै मरेको जन–स्वास्थ्यको बरखी बार्न बसेको
टिचिङ अस्पतालको बुढो एप्रोन मात्रै बोक्न पाइन्छ ।
र पाइन्छ बोक्न तनाबोटलमा
खोक्दा खोक्दै खोक्न बिर्सेको जाजरकोटको दम ।
हा हा हा हा ...

तिमीले त नियमले दिएका कुरा मात्रै ठ्याक ठ्याक बोकेर आएका छौ ।
तिमीले त नियमले पाइने जति सबका सब बोकेर आएका छौ ।

हामी खुसी छौं ।
हामीलाई
हामीले भन्नु भन्दा पहिल्यै कुरा बुझ्ने मान्छे मन पर्छ ।
हामीले मुख नबाउँदै अलङ्कार बुझ्ने विद्वान पाहुना मनपर्छ ।

यसो हेर्दा पत्रकार जस्ता छौ ?
कवि हौ कि समझदार जस्ता छौ ?
कि कुनै सरकारी स्कुलको मास्टर हौ, गाउँतिरको ?
हुलिया हेर्दा त कलाकार जस्ता छौ ?

माफ गर दर्तामा पेसा लेख्नु पर्दैन ।
यहाँ काम गर्नेहरू कति छन् कति
मात्र रोजगार छैनन् ।
त्यसो त
पत्रकार हुनु, कवि हुनु वा मास्टर हुनु
वा कुनै किसान वा कलाकार हुनु
पेसा पनि त होइन, रोजगारी पनि त होइन ।
यो त जिम्मेदारी पो त
निख्खर भोको जिम्मेदारी ।
हा हा हा हा ...

चिस्याएर खान्छौं भने
तिम्रो कोठामै फ्रिज राखिएको छ ।
तताएर खान्छौ भने
बगलमै ओभन राखिएको छ ।
उसिनेर, वफाएर वा फ्राइ गरेर
जसरी खाए पनि हुने प्रबन्ध छ कोठामा ।
कोठाको छेवैमा छ
विश्वामित्रको ठोक्रो जस्तै कहिल्यै नरित्तिने तखता ।
तखताभरि तिम्रा लागि खानेकुरा छन् ः
आश्वासन र केही बासी भाषण
केही थान घोषणापत्र र दस्तावेजहरू छन्
आन्दोलनताका बाँडिएका पर्चा पनि छन्
चुनावताका टाँगिएका पोष्टरहरू छन्
यहाँ यतिका धेरै खानेकुरा छन् ।
स्वाद फेरीफेरी खानू !
आज भ्याएनौ भने भोली पस्किने पनि यही हो ।
हा हा हा हा ...

यहाँ जत्ति नुहाए पनि पाइन्छ ।
तातो आसुँ वा चिसो पसिना दुबैको व्यवस्था छ ।
आवेशको वीर्य वा आक्रोशको रगत सबैको व्यवस्था छ ।
ढुक्क हुनु,
यहाँबाट फर्किदाँ
मज्जाले पाइन्छ दुधले पखाल्न ।
हा हा हा हा ...

म धेरै बोलेँ ?
यति त बोल्नै पथ्र्यो
रिसेप्सन हो ।

तिम्रो बसाई लामो होस् !
तिम्रो अनिन्द्रा लामो होस् !
तिम्रो छटपटी लामो होस् !
तिम्रो अत्यास लामो होस् !
डिप्रेशनले आजित भएर आत्महत्या नगर्दै
तिम्रा तमाम सपनाहरु भकभकी पाकेर मरून्
र त्यो पाकिरहने समय लामो होस् !
शुभकामना छ !

तनाबै तनाबले खोलिएको
हाम्रो युगको अन्तिम होटल
यो अवसाद गृहको द्वार,
‘तनाबोटल’मा स्वागत छ !

................................................................................
गनेस पौडेल
पोखरा, मझेरी पाटन

YouTube