Saturday, July 23, 2022

आमाको अपमान नगर !

 

देश भनेको भूगोल होइन । भूगोलको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डताप्रति वफादार नागरिकहरूको समष्टि नै देश हो । देश भनेको ढुँगा–माटो होइन, मानिसहरू हुन् । नागरिकहरू हुन् । राष्ट्रको परिभाषामा संविधान त्यसै भन्छ ।

•••

स्वघोषणा नै गराउने भए देशको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डताप्रति वफादार रहेको स्वघोषणा गराऊ, कसमै ख्याऊ । तर सन्तानलाई ‘नागरिक’ बनाउनकै लागि आमाहरूलाई आफ्नो आत्मसम्मानको बली चढाउन बाध्य नबनाऊ । बाबुको अतापता नभएको स्वघोषणा गराउनुको अर्थ के हो ? त्यसको अन्तर्य के हो ? 

उसै पनि बाबु भनेको चाहिँ के हो ?

कथासारितसागरमा एउटा किस्सा छ । एक राजाले पितृको श्राद्धका बेलामा  पिण्डहरु नदीमा चढाउन लाग्दा पिण्ड ग्रहण गर्न पानीबाट तीनवटा हातहरु निस्कन्छन् । एउटा किसानको, अर्को साधुको र अर्को सिपाहीको । 

तीनमध्ये कसको हातमा पिण्ड थमाउने भनेर राजा अप्ठेरोमा पर्छन् । त्यति नै बेला आकाशवाणी हुन्छ : किसानले तिम्रो आमालाई बिहे गरेका थिए, तपस्यीले उनलाई गर्भवती बनाएका थिए र सिपाहीले तिम्रो भरणपोषण गरेका थिए । यी तिनैका हात हुन् । यीमध्ये तिम्रो बाबु को हो त्यसैको हातमा मात्र पिण्ड थमाउनू । 

ल भन्नुस् राजाले कसको हातमा पिण्ड थमाए होलान् ? 

आमा र बाबु को हो भन्ने बिषयमा शास्त्रीयकालबाटै बहसहरू छन् । एउटा सन्तानको दुईवटा आमा हुनसक्ने (द्वैमात्री) को कल्पना समेत शास्त्रमा छ । एउटै सन्तानका धेरै बाबु हुन सक्ने, वा बाबु नभए पनि सन्तान हुन सक्ने प्रावधान पनि शास्त्रहरूमा छ । बाबु नहुनुको अर्थ वीर्य बिनानै जन्मेको भन्ने अवश्य पनि होइन । एउटी महिलाले आफ्नो सन्तानको जैवीक बाबु चिनाउन चाहन पनि सक्छे, नचाहन पनि सक्छे । त्यो उसको सनातनी हिसाबले धार्मिक र आधुनिक हिसाबले लैङ्गिक अधिकारको कुरा हो ।

आमाहरूले सनातनदेखि उपभोग गरिआएकै अधिकारलाई अपमान गरेर कस्तो देश बनाउँदैछस्, ए सरकार ? 


0 Comment:

Post a Comment