देशैभरका पालिकाहरूमा विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिने उत्साह बढ्दै जाँदा आम नागरिकबाट सोधिएका केही प्रश्न र तिनका जवाफ :
१) के सबै स्वतन्त्र उम्मेदवार अटेरी अभियानले उठाएका उम्मेदवार हुन् ?
— होइनन् । अटेरी अभियान राजनीतिक अभियान हो तर दल होइन । यो अभियानले कसैलाई ‘टिकट’ दिदैँन । हामीले सार्वजनिक आह्वान गरेर उम्मेदवारी मागेका छौँ । यसअन्तरगत हामीसँग संवाद गरेर उम्मेदवारी दिएका साथीहरू अभियानका हिस्सा हुन् । बाँकि साथीहरूलाई हाम्रो समर्थन त छ तर वहाँहरू अभियानका हिस्सा हुने या नहुने वहाँहरूको नीजि स्वतन्त्रताको बिषय हो ।
तथापि निश्चित मूल्य मान्यता र आदर्शको मूल्याङ्कन बिना हामी कसैलाई अटेरी अभियानको उम्मेदवार घोषणा गर्दैनौँ ।
२) के सबै स्वतन्त्र उम्मेदवार अटेरी हुन् ?
सबै स्वतन्त्र उम्मेदवार अटेरी हुन् तर अटेरी अभियानले उठाएका उम्मेदवार नहुन पनि सक्छन् भन्ने बुझ्नु पर्छ ।
राजनीतिले सुयोग्य जनप्रतिनिधि र तिनले सन्तोषप्रद नतिजा दिएको भए स्वतन्त्र उम्मेदवार भएर चुनाव लड्ने लफडा आम नागरिकले गर्दैनथ्यो । एकाधले ‘रहर’ गर्थे पनि होला, तर यसरी ‘लहर’को रुपमा देशैभर पुग्दैनथ्यो ।
गठबन्धन, भागबण्डा, कार्यकर्ता व्यवस्थापन र आलोपालोको नीतिबाट चुनिने दलीय उम्मेदवारबाट स्थानीय समस्या सुल्झदैनन् बरु झन् बल्झिन्छन् भन्ने मान्यता राख्ने जो जो साथीहरू जे जे कारणले उम्मेदवार हुनुभएको छ वहाँहरूले एक अर्थले दलीय अकर्मण्यताका विरुद्दमा ‘अटेरी’ नै गर्नुभएको हो हाम्रो बुझाई रहन्छ ।
३) अभियानको हिस्सा नभईकन स्वतन्त्र उम्मेदवारी दिएका स्थानमा अभियानले अरु कसैलाई ‘अटेरी’ उम्मेदवार तोक्छ कि तोक्दैन ?
— तोक्दैन । आफैँ आफैँ लडेर कहीँ पुगिँदैन । जेजस्तो कारणले स्वतन्त्र उम्मेदवारी दिनु भएको भए पनि वहाँहरूलाई हाम्रो सापेक्षिक समर्थन र साथ हुन्छ ।
४) राष्ट्रिय दलको मान्यता नपाएको कारणले स्वतन्त्र हैसियतमा उठ्नु परेका साथीहरूलाई अटेरी अभियानले समर्थन गर्छ या गर्दैन ।
— गर्दैन । तर सार्वजनिक रुपमा दल त्याग गरेको घोषणा गरेर उम्मेदवारी दिनुभएमा र चुनाव प्रचारमा दलको झण्डा प्रयोग नगरेमा वहाँहरूलाई हाम्रो समर्थन हुन्छ ।
५) स्वतन्त्र नागरिकले उम्मेदवारी नदिएको स्थानमा ‘अटेरी अभियान’ले कुनै दलको उम्मेदवारलाई समर्थन गर्छ या गर्दैन ।
— गर्छ । अटेरी अभियानको यौटा उद्देश्य सुयोग्य उम्मेदवार मात्र जनप्रतिनिधिमा चयन हुन सक्ने अवस्था सिर्जना गर्नु हो । स्वतन्त्र उम्मेदवारी नपरेका स्थानमा तल दिइएको तालिकाको आधारले जुन उम्मेदवारको सबैभन्दा धेरै अंक आउँछ उसैलाई हाम्रो समर्थन हुन्छ । चुनाव अघि नै देशैभरका पालिकाहरूमा हामीले समर्थन गर्ने उम्मेदवारको सूची प्रकाशित गर्नेछौँ ।
समर्थन तालिका :
१) उम्मेदवारी अनुसार :
‘अटेरी अभियान’ अन्तगरगतका उम्मेदवार — १०० अंक
अभियान बाहेकका स्वतन्त्र उम्मेदवार — ७५ अंक
योग्य हुँदा हुँदै दलले टिकट नदिएर उठेका बागी उम्मेदवार — ५० अंक
दलको 'टिकट' लिएर उठेका उम्मेदवार — २५ अंक
२) उमेर अनुसार :
३५ बर्षभन्दा कम उमेरकोलाई — १०० अंक
४५ बर्षभन्दा कम उमेरकोलाई — ७५ अंक
५५ बर्षभन्दा कम उमेरकोलाई — ५० अंक
५५ देखि ६० बर्षकोलाई — २५ अंक
६० भन्दा माथिकोलाई — १० अंक
३) अध्ययन अनुसार :
स्नाकोत्तर वा सोभन्दा माथिकोलाई — १०० अंक
स्नातक पुरा गरेकोलाई — ७५ अंक
प्रविणता प्रमाणपत्र÷१२ कक्षा पुरा गरेकोलाई — ५० अंक
एसएलसी÷एसइइ गरेकोलाई — २५ अंक
साक्षर — १० अंक
४) विशेष पहिचानअनुसार :
महिला भएमा — थप १० अंक
दलित भएमा — थप १० अंक
आदिवासी जनजाती भएमा — थप १० अंक
लैंगिक, भाषिक वा जातीय अल्पसंख्यक भएमा — थप १० अंक
यस अघि कुनै सामाजिक अभियानमा लागेको भएमा — थप १० अंक
विशेष अनुभव, अध्ययन वा सिर्जनात्मकता भएमा — थप १० अंक
माथिको अंक तालिकामा जे सुकै भनिएको भएता पनि कुनै आपराधिक गतिविधिमा वा भ्रष्टाचारमा संलग्न भएको, लैंगिक हिंसा गरेको वा त्यसलाई टेवा दिने अभिव्यक्ति दिएको, कसैको मौलिक हक, जातीय, धार्मिक वा साँस्कृतिक पहिचानलाई ठेस पुग्ने काम गरेको वा अभिव्यक्ति दिएको उम्मेदवारलाई हाम्रो कुनै समर्थन रहँदैन ।
0 Comment:
Post a Comment