यो आचार संहिता अटेरी अभियानका सम्पूर्ण अभियन्ता, उम्मेदवार तथा समर्थकहरूका लागि निर्माण गरिएको हो । यसका केही बुँदाहरू चुनावकेन्द्रित छन् भने केही सर्वकालीन छन् । यसको पालना गर्न चुकेमा कुनै पनि अभियन्ता अटेरी अभियन्ता रहने छैन, कुनै पनि उम्मेदवार अटेरी अभियान अन्तरगतको उम्मेदवार रहिरहने छैन । उनीहरूको संलग्नता स्वतः खारेज भएको मानिनेछ ।
अटेरी उम्मेदवार तथा अभियन्ताले पालना गर्नुपर्ने नियम :
१. नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो । मुलुकको यो पहिचान निर्माणमा प्राणको आहुती दिने सबै खाले आन्दोलनका सम्पूर्ण सहिदहरू प्रति श्रद्धाभाव देखाउनु पर्नेछ । कुनै पनि औपचारिक कार्यक्रम सहिदहरूप्रति सम्मानपूर्वक मौन धारण गरेर मात्रै सुरु गर्नु पर्नेछ ।
२. संविधानवाद अटेरी अभियानको पहिलो सर्त हो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी लोकतन्त्र जस्ता संविधानका आधारभूत बिषयमा विवादास्पद वा परिस्कारवादी अभिव्यक्ति दिनु हुँदैन ।
३. राष्ट्रको गरीमा तथा सार्वभौमिकतामा आँच पु¥याउने खालका कुनै पनि गतिविधि गर्नु हुँदैन, कुनै पनि औपचारिक वा अनौपचारिक जमघटमा तथा सामाजिक सञ्जालमा समेत टिप्पणी गर्नु हुँदैन ।
४. कुनै पनि व्यक्तिको जातीय, धार्मिक, पारम्परिक, साँस्कृतिक, लैंगिक वा अन्य कुनै प्रकारको पहिचानलाई अपमान गर्ने गरी अभिव्यक्ति राख्नु वा क्रियाकपाल गर्र्नु हुँदैन । यौनिक पहिचान, पेशा–व्यवसाय, शारिरिक फरक क्षमता आदिको आधारमा कसैको अपमान हुने गरी कुनै पनि अभिव्यक्ति दिनु हुँदैन ।
५. अभियानको प्रचार–प्रसारमा कुनै खाले जिम्मेवारी लिएको व्यक्ति तथा अभियान अन्तरगतको उम्मेदवार समाजको नजरमा हुन्छ । चुनावको अवधिसम्म आफ्नो सामाजिक सञ्जालको खातामा अभियानलाई असर गर्न सक्ने अन्य वैयक्तिक विचार, चित्र, भिडियो वा अडियो पोष्ट गर्नु हुँदैन ।
६. कुनै पनि जमघट वा कार्यक्रममा कुनै पनि बहानामा बालबालिकालाई ल्याउनु हुँदैन ।
७. अभियानको यौटा मुख्य उद्देश्य स्थानीय तहको निर्वाचनलाई दलीय नबनाउन प्रयत्न गर्नु हो । तर यसको अर्थ हामी वहुदलीय व्यवस्थाको विरोधी होइनौ । हामी दलविहिन लोकतन्त्रको कल्पना गर्न सक्दैनौँ । हाम्रा अभियन्ता तथा उम्मेदवारले कुनै दल वा उम्मेदवारको खराब अभ्यास र क्रियाकलापको विरोध गरिरहँदा बहुदलीय लोकतन्त्रको विरोध भने गर्नु हुँदैन । (संसारका धेरै उन्नत लोकतन्त्रमा स्थानीय तहको चुनाव दलीय प्रतिस्पर्धाका आधारमा नभई स्वतन्त्र रुपमा हुन्छन् । राजनीतिक दलले आफ्नो उम्मेदवार त उठाउन सक्छन् तर आफ्नो दलको चुनाव–चिन्हको प्रयोग गर्न पाउँदैनन् ।)
८. अटेरी अभियान अन्तरगतका हरेक उम्मेदवारले आफ्नो मतदाता वा अन्य नेपाली नागरिकले समेत मागेको खण्डमा आफ्नो बारेको कुनै पनि सूचना दिनु पर्नेछ । तर यसरी सूचना दिदाँ आफूसम्बद्ध अन्य व्यक्तिको गोपनीयताको अधिकारलाई हनन गर्न पाइने छैन ।
९. असंलग्न परराष्ट्र नीति हाम्रो मुलुकको वैदेशिक नीति हो । अभियानका क्रममा कुनै पनि मुलुकको नाम तोकेर विरोधी विचार सम्प्रेषण गर्नु हुँदैन । कुनै पनि मुलुक वा त्यहाँका जनताको सार्वमौमिकतामा आँच आउने वा तिनको अपमान गर्ने प्रकारको अभिव्यक्ति दिनु वा क्रियाकलाप गर्नु हुँदैन ।
१०. अभियानप्रति आर्थिक, भौतिक र नैतिक रुपमा निष्ठावान् हुनुपर्नेछ । चुनाव प्रचार प्रसारको लागि निर्वाचन आयोगले तोकेको रकमको पनि २५ प्रतिशत भन्दा धेरै रकम खर्चिन पाइने छैन ।
११. शान्तपूर्वक बाँच्न पाउने नागरिक अधिकार कुण्ठित गरी माइकिङ गर्ने, होहल्ला गर्ने, नाराबाजी सहितको र्याली गर्ने, आमसभा गर्ने जस्ता काम गर्नु हुँदैन । र्याली गर्नै पर्ने भएमा मौन र्याली वा साइकल र्याली गर्न सकिनेछ । पोस्टर टाँस्ने, होर्डिङ बोर्ड बनाउने जस्ता काम गर्नु हुँदैन ।
१२. घरदैलोले व्यक्तिको गोपनियताको हक हनन गर्छ । शान्तपूर्वक बाँच्न पाउने अधिकारलाई अपमान गर्छ । त्यसैले अभियानका सदस्यले कार्यकर्ता बटुलेर घरदैलो गर्नु हुँदैन । तर उम्मेदवार वा अभियन्ताको आफ्नै छरछिमेकमा छिमेकीको हैसियतमा पुगेर चुनावी कुराकानी गर्न यसले बन्देज गर्ने छैन । अन्य चुनावी प्रचार प्रसार शैली प्रयोग गर्न नसकिने साना पालिका तथा ग्रामीण क्षेत्रमा यो बुँदा वाध्यकारी हुने छैन ।
१३. अटेरी अभियानको चुनावी घोषणापत्रसँग बाझिने गरी कुनै पनि अभिव्यक्ति दिनु वा नयाँ योजना राख्नु हुँदैन । “आफ्नो घोषणापत्र अनुसारका काम गर्नेछु नभए बिचैमा राजिनामा दिनेछु” भनेर प्रतीज्ञा गर्नु पर्नेछ ।
१४. “निर्वाचन जितेपछि मैले भ्रष्टाचार गर्दिनँ, अनियमितता गर्दिनँ” भनेर सार्वजनिक घोषणा गरेको भिडियो बनाई आफ्नो सामाजिक संजालमा अनिवार्य राख्नु पर्नेछ । भिडियोमा बोल्ने भाषा अटेरी अभियानले तोकेबमोजिम हुनुपर्नेछ ।
१५. अभियानको चुनावी गतिविधिमा सरिक भएका अभियन्ता तथा चन्दा वा सहयोग दाताले समेत ‘सहयोग वापत कुनै पनि प्रकारको व्यक्तिगत लाभ र स्वार्थ राख्ने छैन’ भन्ने मौखिक प्रतीज्ञा गर्नु पर्नेछ ।
१६. ‘अटेरी अभियान’को लागि वा उम्मेदवारलाई व्यक्तिगत रुपमा आएको सहयोगको सम्पूर्ण हरहिसाब दुरुस्त राख्नु पर्नेछ । चन्दादाताले नचाहेमा वहाँको व्यक्तिगत परिचय खुलाउनु हुँदैन तर वहाँहरुलाई अभियानले तोकेबमोजिमको कोड नम्बर दिनु पर्नेछ । सोही कोड अनुसारले आम्दानी तथा खर्च विवरण अनिवार्य रुपमा सार्वजनिक गर्नु पर्नेछ । आम्दानीभन्दा खर्च धेरै भएको विवरण पेश गर्न पाइने छैन ।
१७. उम्मेदवारी दर्ता गराइसकेपछि चुनावको दिन अर्थात बैशाख ३० गतेसम्म कुनै पनि उम्मेदवारले अत्यावश्यक कामबाहेक विदेश भ्रमण गर्नु हुँदैन । पूर्व सूचनाबिना आफ्नो निर्वाचन क्षेत्र समेत छोडेर जानु हुँदैन ।
१८. माथिका बुँदाहरू बाहेक, निर्वाचन आयोगले जारी गर्ने आचार संहिताको पूर्ण पालना गर्न प्रतिबद्ध हुनु पर्नेछ ।
अटेरी अभियान यौटा आन्दोलन हो, राजनीतिक दल होइन । अभियानमा जोडिएका कुनै पनि उम्मेदवारलाई अभियानले उठाएको होइन, सबै उम्मेदवार आफ्नै विवेकले स्वतन्त्र रुपमा उठेका हुन् भन्ने कुरा बिर्सनु हुँदैन । उम्मेदवार तथा अभियन्ताका कमजोरीहरू व्यक्तिगत हुनेछन्, सबलता र सहकार्य मात्रै अभियानका हिस्सा हुनेछन् ।
चुनाव प्रचार प्रसार समिति
अटेरी अभियानको मुख्यालय
पोखरा–९, नयाँबजार, कास्की
0 Comment:
Post a Comment