Sunday, February 20, 2022

सहयोगका लागि अपिल




सबैलाई नमस्ते !

उम्मेदवारी पछिको अति व्यस्तताले गर्दा मैले सबै परिवारजन साथीभाइ इष्टमित्र गाउँले तथा सहृदयी शुभचिन्तकहरूसँग सल्लाह तथा आर्शिवाद लिन आउन भ्याएको छैन । हामीलाई वास्तै गरेन नभनिदिनु होला ।

मेरो उम्मेदवारी कुनै राजनीतिक दलको विरूद्दमा होइन । न कुनै तरिकाले कुनै व्यक्ति वा दललाई प्रभावित पार्ने मनशायले म चुनावमा उठ्ने निर्णय गरेको हुँ । खासमा यो उम्मेदवारी मात्रै होइन राष्ट्रिय अभियान हो । खडेरीको आगो झैं देशभर यसको आभा सल्किरहेको तपाईहरूले अवलोकन गर्नु भएकै छ ।

अभियान अन्तरगत १७ वटा पालिकामा उम्मेदवारी घोषणा भैसकेको छ भने देशभर रहेका २८३ वटै पालिकाहरूमा अटेरी उम्मेदवार उठाउने अन्तिम योजना साकार हुँदैछ । पोखराका सबै वडाका सबै पदमा उम्मेदवारी दिने अन्तिम तयारीमा हामी छौँ ।
अटेरी अभियानको मुख्य उद्देश्य स्थानीय निकायको चुनावलाई दलीय प्रतिस्पर्धाको चुनाव नबनाउने, स्वतन्त्र उम्मेवारले मात्रै यसमा भाग लिन पाउने व्यवस्था लागू गरौँ भन्ने हो ।

संसारका प्राय सबै मुलुकमा स्थानीय चुनावमा दलले भाग लिन पाउँदैनन् । उनीहरूले कसैलाई समर्थन भने दिन सक्छन् । छिमेकी भारतमै पनि सबै स्थानीय निकायको चुनावमा स्वतन्त्र उम्मेदवारले मात्रै भाग लिन्छन् । दलबाट चुनिएकाले भन्दा स्वतन्त्र उम्मेदवारले स्थानीय निकायमा प्रभावकारी काम गर्न सक्छन् भन्ने उदाहरण संसारभर स्थापित र अनुसन्धानले प्रमाणित मान्यता हो । दलीय चासो वितरणामूखी हुने र तत्काल असंभव हुने ठुला योजनामा बढि केन्द्रित देखिने कुरा त तपाई हामीले भोगेकै कुरा हो ।

समाजको अति सानो एकाइमा पनि दलको प्रवेश हुँदा स्वार्थ बाझिने र कार्यसम्पादनमा ढिलाई हुने समाज र टोल समेत विभाजित हुने गर्दछ । ११ सदस्यी कुनै आमा समूह वा युवा क्लब वा टोल सुधार समितिको कार्यसमिति चयन गर्दा पनि दलीय भागबण्डा मिलाउने कसरत हुने गरेको कुनै घटना तपाईले स्मरण गरे पुग्छ ।

यो अभियानले राष्ट्रव्यापि रूप लिइरहँदा मलाई खुसी लाग्नु स्वाभाविक हो तर खुसी भन्दा धेरै डर पनि लागेको छ । जिम्मेवारी वोध भएको छ ।

मलाई थाह छ कुनै पनि व्यक्तिको अभियान नीजि योजना हुँदैन । कसैको ज्ञान सीप क्षमता वा जीवन त्यो व्यक्तिको नीजि सम्पदा होइन । त्यसको निर्माणमा उसको परिवार र उसको बाँचेको समाजले सबैभन्दा धेरै योगदान गरेको हुन्छ । म आफै बनेको होइन । तपाईहरूले बनाउनु भएको हो । मेरो जीवन र यसले लिने निर्णयमा समाजको हक छ ।

अभियानको सार्थकता पछि म राजनीतिमा सक्रिय भएर लाग्दिनँ । त्यो मेरो जीवन होइन । म लेखक हुँ र लेखेरै बाँच्न चाहन्छु । राजनीति अतिविघ्न फोहोरी भएपछि यसलाई सफा गर्न केही प्रयास गर्न सकिन्छ कि भन्ने अभिलाशाले मैले यो अभियान सुरू गरेको हुँ ।

यो अभियानमा भाग लिन र्‍यालीमा सहभागी हुनु पर्दैन । कुनै सार्वजनिक अभिव्यक्ति दिनु पर्दैन । म अटेरी भएँ भनेर घोषणा गर्नु पर्दैन । तपाईँ एमाले हो भने एमाले छोड्नु पर्दैन । काँग्रेस भए काँग्रेस त्याग्नु पर्दैन । माओवादी राप्रपा वा अरू कुनै दलमा भएको भए पनि दल त्याग गर्नु पर्दैन । तपाईँ जुनसुकै दलमा भए पनि आ-आफ्नो दलमा हुनुभएका माथिल्लो तहका नेतृत्वलाई यत्ति भनिदिनु भए पुग्छ :

क) स्थानीय निकायको चुनाव दलीय प्रतिस्पर्धाबाट होइन स्वतन्त्र नागरिकको प्रतिस्पर्धाबाट गराउने परिपाठी बसालौँ । यसले देशलाई फाइदा हुन्छ । राजनीतिक दललाई पनि फाइदा पुग्छ । उनीहरूलाई ठुला योजनामा मात्रै केन्द्रित हुने समय पुग्छ ।

ख) तत्काल यसो हुन हालाकि संभव छैन । चुनाव घोषणा भैसकेको छ र तत्काल संविधान र कानुन फेर्न संभव छैन । यसर्थ यसपटक कम्तिमा स्वतन्त्र उम्मेदवारलाई नै दलीय समर्थन दिन दबाब दिनुहोस् । उनीहरू पार्टीको होइन स्वतन्त्र उम्मेदवारलाई दिइएको चुनाव चिन्हबाट चुनाव लड्नेछन् ।

ग) शक्ति संघर्षको कारणले हुने भागबण्डा र कार्यकर्ता व्यवस्थापनमै नेपालका राजनीतिक दलको आधि समय सकिने गर्छ । उनीहरूलाई जनताका खास समस्यामा केन्द्रित हुने समय नै पुग्दैन । कार्यकर्ता व्यवस्थापन गर्नु पर्ने वाध्यताकै कारणले 'ख' बुँदाको कुरा पनि देशका सबै स्थानीय निकायमा लागू गर्न तत्काल संभव छैन । तथापि केही ठाउँमा यस्तो हुने संभावना बढेको छ ।

यस्तो बेला तपाईको पार्टीको चुनावी टिकट दिने नेता वा निकायलाई भन्नुहोस् कि हाम्रो पार्टीबाट कम्तिमा 'अटेरी' उम्मेदवारभन्दा योग्य उम्मेदवार उठाउनु होस् । उनीहरूभन्दा युवा, इमान्दार र अध्ययनशील उम्मेदवार उठाउनु होस् । नत्र यसपटकलाई हामी पनि अटेर गर्न वाध्य हुनेछौँ ।

अन्त्यमा :

अटेरी अभियान देशव्यापि हुँदै गएको भए पनि हाम्रो कुनै संगठन छैन । जहाँ जहाँ जो जो उठ्नु भएको छ वहाँहरू आ-आफ्नै हिसाब र आँटले उठ्नु भएको छ ।

मैले पोखरा महानगरबाट नगर प्रमुखमा उठ्ने घोषणा गरेको छु ।

चुनावको प्रसारप्रसार गर्न, घोषणापत्र लगायत चुनावी प्रचारप्रसारको सामग्री छपाइ तथा निर्माण गर्न खर्चको आवश्यकता पर्छ । चुनावी खर्चमा व्यक्तिगत लगानी भयो भने उक्त मान्छेको पहिलो ध्यान चुनाव जितेपछि आफूले गरेको खर्च उठाउनु नै हुन्छ । यसले नेतृत्वलाई भ्रष्ट बनाउँछ । भ्रष्ट हुन बाध्य हुन्छ । देशमा भ्रष्टाचार बढ्नुको मुल कारण यही हो ।

तपाईले पनि मलाई कुनै प्रकारले सहयोग दिने मनशाय बनाउनु भएको छ भने म त्यसलाई हृदयत स्वागत गर्न चाहन्छु । सहयोग लिने बारेमा मैले यस्तो नियम बनाएको छु :

क) भरसक आर्थिक सहायता नलिने । भौतिक वा कार्यगत सहायता (In-Kind Help) मात्रै लिने ।

ख) कुनै व्यक्तिबाट रू १ लाख भन्दा धेरै सहयोग नलिने ।

ग) त्यस्तो व्यक्तिबाट सहयोग नलिने जसले पछि मबाट व्यक्तिगत लाभ प्राप्त गर्ने आशा राखेको हुन्छ ।

मेरो लागि कुनै पनि सहयोग गर्न चाहनु हुन्छ भने मेरो चुनावी कार्यक्रमको व्यवस्थापन हेरिरहेका मित्र राजन गोदार (९८५१०८७१६९) वा मलाई सम्पर्क गर्नु होला । आर्थिक सहयोग गर्नेको गोप्यता कायम गर्न हामी एउटा कोड दिनेछौँ र सोहि कोड अनुसारले आर्थिक विवरण सार्वजनिक गर्ने छौँ । चुनावी खर्चपछि पनि रकम बाँकि रहेमा त्यसको पारदर्शी विवरण सार्वजनिक गरी जडेगा रकम कुनै सामाजिक संस्थालाई हस्तान्तरण गर्नेछौँ ।

सम्पर्क नगरी सिधै सहायता रकम पठाउन चाहनु हुन्छ भने :
खाता विवरण :

A/C Holder: Khadak Raj Paudel
Bank : Machhapuchhre Bank Ltd.
A/C Number: 0010079414000019
Branch: Pokhara
वा
इसेवाबाट पठाउने भए : 9856031647

नोट: खातामा रकम पठाउँदा रिफरेन्समा Ateri लेखिदिनु होला ।

सबैको जय होस् !

आउनुस् यसपटक 'अटेर' गरौँ ।

0 Comment:

Post a Comment