Saturday, February 13, 2021

प्रेम दिवसको शुभकामना


 "मलाई त्यही केटी/केटा चाहिन्छ" भन्ने चलन कहिलेबाट बस्यो होला? यस्तो कुरा मानव वृत्ति (human instinct)कै रुपमा विकास हुन कति पुस्ता सकियो होला?


यौन, प्रेम र विवाह अलग बिषय हुन्।


यौन खासमा प्रकृति (स्वभाव) हो । प्रेमको अनुभूति नगर्ने (?) र विवाह पनि नगर्ने सबै चराचर यौनिक क्रियाकलाप भने गर्छन् ।


तर प्रेम भनेको संप्रति (स्वभावको अवस्था अर्थात सम्बन्ध) हो। सम्बन्ध अनेक हुन्छन् : रगतको, दुधको, वीर्यको, पसिनाको, पानीको...। यसमा जति थप्यो उति बढ्छ। तर 'प्रेम-सम्बन्ध' भनेर बुझिने सम्बन्ध खासमा यौनको सम्बन्ध हो। किनकी आफूले यौन सम्बन्ध राख्न नरुचाउने (फरक यौनिकताको कारण) वा राख्ने विचारै नआउने (रक्त सम्बन्धका कारण) व्यक्तिसँग हाम्रो 'प्रेम सम्बन्ध' हुँदैन, अरु कुनै सम्बन्ध हुन्छ। 


र विवाह चाहिँ संस्कृति (यौन र प्रेमलाई मिसाउने प्रयास) हो।

संस्कृति बस्न यौटा उत्प्रेरणा चाहिन्छ । प्रजनन (त्यसमा पनि बंश पहिचान) त्यो उत्प्रेरणा हो। 


बंश बिस्तारको काम त जीव उत्पत्तिको बखतदेखि सँधै भएकै छ:  पशु, पंक्षी, वनस्पति, जीवाणु सबैले गरिरहेका छन् । तर के मान्छे जस्तै उनीहरूले आफ्नो सन्तानलाई जीवनभर चिन्छन् ? 

उसो त 'विवाह' संस्कृति नबनेको भए मान्छेलाई पनि आफ्ना सन्तान-दरसन्तानको पहिचान गर्न गाह्रो हुन्थ्यो।


विवाहले बंश बिस्तार र त्यसको पहिचानको ग्यारेन्टी लिएको हुनाले त्यो संस्कृतिकै रूपमा संसारभर बसेको हो। 


---


मान्छेले जहिलेबाट 'सौन्दर्य'को अनुभूति गर्न थाल्यो 'प्रेम' त्यही दिनबाट अंकुरण भयो। 


यौन सम्बन्ध त सबैसँग राख्न सकिन्छ। त्यसको लागि शारीरिक र मानसिक रुपमा पनि तयार हुन सकिन्छ । तर सबैसँग भावनात्मक रुपमा तयार हुन सकिन्नँ । किनकी प्रेम भावना हो । संप्रति हो । संप्रतिको अर्थ हुन्छ वर्तमान, अवस्था, हालत। वर्तमान कहिल्यै 'दुइटा' हुँदैन। यो त आदिकालदेखि यौटै छ। निरन्तर छ। त्यसैले भनिएको हो (एक पटकमा) प्रेम एक जनासँग मात्रै हुन्छ।


यौनको शारीरिक र मानसिक तयारी 'गर्नु'मा निहित हुन्छ। भावनात्मक तयारी 'गरिनु'मा हुन्छ। कसैले मलाई प्रेम गर्छ भन्ने अनुभूति एउटा विशेष अनुभूति हो। प्रेम 'गरिनु'मा आफ्नो अस्तित्वको मूल्य महशुस हुन्छ। यौटा 'अहम्'को विष्फोटन हुन्छ। 


कसैलाई प्रेम 'गर्दा' मान्छेले (प्रारम्भमा) आफूलाई inferior महशुस गर्छ। कसैबाट प्रेम 'गरिँदा' (सँधै) superior महशुस गर्छ। जसलाई प्रेम 'गरेको छु' उसबाट आफू पनि उत्तिकै गहिरो गरी (!) प्रेम 'गरिएको छु' भन्ने जानेपछि मात्रै मान्छे त्यो लघुताभाष वा महत्ताभाषबाट मुक्त हुन्छ। अहमबाट मुक्त हुन्छ।


तर त्यसरी मुक्त हुन सजिलो छैन। धेरै शंका, उपशंका, अविश्वास, परिक्षणबाट गुज्रिए पछिमात्रै मान्छे लघुताभाष वा महत्ताभाषबाट मुक्त हुन्छ। नत्र सबै प्रेमीहरू बुद्ध हुने थिए। म त झन पटके बुद्ध हुने थिएँ।


त्यसैले त प्रेमलाई ईश्वर भनिएको हो।


प्रेम बारेको मेरो बुझाई आजकाल यो तहमा छ । बुझाईको भर्‍याङ यस्तो जिनिस हो, जसमा आफू उभिएको खुड्किलोभन्दा माथी अर्को कुनै खुड्किलो देखिन्नँ। यस्तो लाग्छ मेरो बुझाई नै 'सबैभन्दा माथिल्लो दर्जाको' बुझाई हो।


खैर, आजकाल म यस्तो सोच्छु:-


प्रेम आफैंमा महत्त्वपूर्ण कुरा हो, कसलाई प्रेम गरिन्छ वा कोबाट प्रेम पाइन्छ त्यो गौण कुरा हो। 


मैले जोजसलाई प्रेम गरेँ ती सबै मेरा लागि गौण हुन् तर उनीहरूका लागि वा उनीहरूबाट उत्पन्न प्रेमको 'आयतन' र 'घनत्व'को जुन अनुभूति मैले बोध गरेँ त्यो मेरो जीवनबोध हो। 


मैले प्रेम गरेका र मलाई प्रेम गरेका तमाम ज्ञात अज्ञात प्रेमिकाहरूलाई प्रेम दिवसको शुभकामना !

0 Comment:

Post a Comment